पुल्चोक क्याम्पस : मेरो स्मृतिमा
कुरा आजभन्दा १७–१८ बर्ष अगाडिको हो जुन बेला पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा नाम निकाल्नु नै एउटा ठुलो युद्घ जिते जस्तै थियो, आजकल त अखबारमा पढ्छु प्रबेश परिक्षाको प्रश्नपत्र नै बजारमा किन्न पाइयो रे । ख्यालख्यालमै पुल्चोकमा नाम निक्लियो, इन्जिनियर बन्ने छाँटकाँट आयो । नत्र यो लण्ठु एपेप आजसम्म पनि ओभरसियर वा हदै भए लोकतान्त्रिक होलसेल बढुवामा परेर बिना डिग्रीको इन्जिनियरको बिल्ला भिरेर हल्ली रहेको हुन्थ्यो । हुनत त्यो बेला अर्को एउटा निजी इन्जिनियरिङ्ग कलेज NEC पनि भर्खर खुल्ने तरखरमा थियो । जहाँ पछि मेरा धेरै साथीहरु अध्ययन गर्न आइपुगे । जे भए पनि पुल्चोक क्याम्पस अध्ययनरत हुँदाको समय गज्जबको थियो । पीर हुन्थ्यो त एउटै कुराको - ती दिक्दार लाग्दा बाह्रमासे परिक्षाहरुको । अरु कुराहरु लगभग सबै म्यानेजएबल, कुनै कुनै मस्तीका हुने नै भए । ती मध्ये त्यो डेराको बसाई, ती साथीहरु, ती बालाहरु र ती गुरुदेवहरु अवस्मरणीय छन् । मेरो यो स्मरण लेखन यीनै सेरोफरोमा घुम्नेछन् । खोइ कहाँबाट थालनी गरौं । गास, बास र कपास जीबनको पहिला प्राथमिकताहरु हुन रे । त्यसैले डेराको बसाईबाटै सुरु गरौं क्यारे ।
डेरा थियो क्याम्पसभन्दा उत्तर, बागमतीको किनारतिर, क्याम्पस पर्खालसगै जोडिएको बाटैमा पर्ने । पर्खाल अग्लै छ तर पनि हामी पर्खाल वरिपरिको घुमाउरो बाटो हिडनुभन्दा अनेक साधनले पर्खाल नै फड्किन्थ्यौं क्याम्पस र डेराबीच ओहोरदोहोर गर्न । यो छोटो बाटो प्रयोग गर्दा कर्मचारी तथा प्रध्यापक आवस क्षेत्र भएर जानुपथ्र्यो जुन कुरा उहाँहरुलाई त्यति प्रिय थिएन । त्यसकारण यस्ता पर्खाल फड्किन प्रयोग गरिने हाम्रा तारतरम्यहरु कहिलेकाहिं हटाइएका हुन्थे । शायद पर्खाल नजिकका घरहरुमा बस्ने गुरुदेब वा कर्मचारी तथा उनका परिवार सदस्यहरुलाई हामीबाटभन्दा पनि गैर बिघार्थीहरुबाट डर थियो होला । यो कुराको हामीलाई बालै भएन, त्यस्ता तारतरम्यहरु फेरि खडा हुन्थे, हामी त्यही (कु)बाटो प्रयोग गर्थियौं । हामी क्याम्पस जानु पर्ने धेरै कारणहरु हुन्थे, बाध्यताले क्लास लिन, अर्ध बाध्यताले तर नियमित होइन मेसमा वा निरौलाकोमा खाजा-खाना खान । होस्टल पनि गई रहुनु पर्ने । प्राक्टिकलको रिपोर्ट सार्न, सर्भेको रिपोर्ट बनाउन, टेलिभिजन हेर्न बिशेष गरी फुटबल र क्रीकेट क्रेजको ज्वरो आउँदा, डेरामा पानी नहुँदा नुवाईधुवाई गर्न आदि इत्यादि । त्यसो त होस्टलका प्राय साथीहरुले स्वागत नै गर्थे । कोही भने हामीलाई अर्कै ग्रहको प्राणी आएको जस्तै गरेर हेर्थे, के के न उनीहरुको भाग खोस्न गए जस्तै । मैले यस्को पछाडिको मनोबिज्ञान बुझेको छैन ।
घरबेटी बा कतै मंगलबजार तिरका थिए । ६० बर्षको हाराहरीमा पुगेका उनी अदालतमा अभिबक्ताको पदमा काम गर्ने । न्यायक्षेत्रमा अधिबक्ता भन्ने त सुनेको थिए तर अभिबक्ता भन्ने पद पनि हुँदोरहेछ पहिलोपटक घरबेटी बा बाट नै थाह भयो । भाडा खाने हिसाबले (तर पछि बेचे रे ) साढे तीन तलाको घर बनाएका ढण्ठलमा । ठाउँको नाम यहि हो हामीलाई बताइए अनुसार । घरबेटी बा अलि व्यस्त नै हुन्थे होला छोरा जीवनचालाई सहायक घरबेटीको रुपमा नियुक्ति गरेका थिए । जीबनचाको मुख्य काम घरको रेखदेख गर्नु वा भनौं भने हामीमा घरबेटीको उपस्थिति देखाउनु थियो । शुरुको केहि महिना त जीबनचा सबभन्दा माथिल्लो तलाको एउटा कोठामा सुत्ने बस्ने गथ्र्यो । खान सधैं मगंलबजार तिरकै घरमा पुग्थ्यो । उसंग हामीले ठीक ठीकैको दोस्ती कायम गरेको थियौं । पछि के भयो कुन्नि उस्को स्वास्नीले गुनासो गरी वा हामीलाई निगरानीमा राखीरहनु पर्ने आवश्यकता देखेन उ त्यहाँ बस्न छोड्यो । त्यसपछि घर पुरा हाम्रो कब्जामा आयो । यसरी कब्जा गरी बस्नेहरुमा हामी १२ देखि २० जना सम्म हुन्थ्यौं । संख्यामा घटबढ भईरहन्थ्यो । हामी एपेप, बामदेब, नाना, दर्शन, कुमार, सुदन, पारस, कमल, जैकी, प्रसाद, अक्षय, अमिर पुर्णकालिन रुपमै बस् । कहिलेकाहि कुनै साथीले थप साथीभाईलाई अस्थायी बसोबासको लागि पनि आमन्त्रण गर्थे । यस्ता अर्धकालिनमा मुख्यत विवश, चेजी, कृष्ण, आशिक, एचएच, एचडी, दर्शनको भाइ मिनी, जैकीको भाई बिनो थिए । यी पात्रहरुमध्ये ११ जना पुल्चोक पढ्ने, ५ जना NEC पढने, बाँकी अन्य कोही अन्यत्र पढ्ने, प्रबेश परिक्षाको तयारी गर्ने वा जागिर खाने यस्तै यस्तै । एउटा कुरा यहाँ प्रष्ट छ कि हाम्रो डेरामा स्त्रीजाती कोहि थिएन । सब एक से एक होनाहार कुमारहरु । त्यसैले माफ गर्नुहोला घरबेटी मैचा वा एउटै घरमा डेरा गरी बस्ने सुकुमारीहरुसंग हुने मायाप्रिति र रोमान्सका कथाहरु यहाँ भेटिने छैनन् ।
काठमाडौं बसाईको कुरा गर्दा पानीको कुरा गरिएन भने त्यो अधुरो हुन्छ । पानीको लागि कुन चाहिं उपाय अपनाइएन होला । जेरीक्यान लिएर ढुगेंधारा धाउनेदेखि सार्बजनिक कलधारा नानीको देखिको बल लगाएर खिच्ने त्यो पनि पहेंलो लेदो तैरिने पानीको लागि । जानिफकारहरु भन्थे पानीमा फलाम धेरै भए पछि यस्तो हुन्छ रे । हल्का रगंका कपडा एक पटक धोए पछि यस्को पुरा हुलियानै गायब । तेसोत डेरामा city line पनि जोडिएको थियो । यसमा पानी कुन बेला कति समयका लागि कसरी चुहिन्थ्यो पानीकै देवता इन्द्रले खुट्याउन सक्थेनन् होला हामी नाथेको के कुरा । पानी भन्दा अगाडि पाइपमा आउने हावाको सुसेलीको चाल थाहा पाएर मोटरपम्प चालु गर्नुपथ्र्यो । पम्प चालु गर्न २ मीनेट मात्र दायाँबायाँ भए, पाइपबाट हावा मात्र झथ्र्यो । पानी पनि झर्लाकि भन्ने आशमा थप केहिबेर हावालाई स्वागत गरिरहँदा यी मोटरपम्प कति पटक जले गनेर साध्य छैन । छिमेकिसंग अरु जे कुरामा समन्वय भए पनि उनीबाट पानी आएको खबर पाउन भने गाह्रो । हाम्रो मोटरपम्प जति कम चल्यो उन्को ट्याङ्की उति बढी भरिने भएकोले होला । एकदिन हामी २० थान मध्येकै एउटाले उपाय सुझायो आफनै डेरामा किन कलधारा नगाड्ने । पानी पहेलै भए पनि शौलाचयमा र अन्य सरसफाईलाई काम लाग्ने । खानेपानीको जसोतसो जोहो भइहाल्छ । अलि अलि प्राविधिक बिद्या लगाइयो, सम्भाब्यताको अध्ययन भयो, पैसाको हिसाबकिताब भयो, घरबेटीसगँ सल्लाह भयो र धारा गाड्नको मिस्त्री झिकाइयो । गाड्ने काम लगभग पुरा हुन लाग्दै थियो, पाइप पानीको तहमा पुग्न लागेको आभाष हुदै थियो । हामी एक हिसावले रोमान्चित थियौं । भाँच्चिसकेको मेलाम्चीको पानीको सपना यस्ले पुर्नजीवित गर्दैथियो । यस्तैमा तल पाइप धसाई रहेको मिस्त्रीको आश्चर्य मिस्त्रीत उच्च आवाजले हामीलाई विपनामा पछारिदियो । उ भन्दै थियो पाइपबाट पानी होइन ग्यास पो आयो रे, त्यो पनि गनाउने ग्यास । धोका ! फेरि पनि हावा मात्र ?
क्रमश :