दुई केपी र भोलिका माओवादी
पाक्षिक भेट
खगेन्द्र संग्रौला
माओवादी कमरेडहरूले सामाजिक न्यायको खोजीमा दस वर्ष चलाएको बन्दुक साँच्ची नै थन्क्याउने भए । यस घडीमा द्वन्द्वपीडित नरनारीहरू औधी खुसी छन् । तर सँगसँगै थुप्रै दुःखी मानिसले माओवादीमाथि ठूलठूला आशा राखेका पनि छन् । आशामुखी यी दुःखी झन्डै डेढ दशक लामो संसदीय शासनमा कांग्रेस र एमालेले इलम, इज्जत, पहिचान र सुरक्षा दिन नसकेका अशक्त र उपेक्षित मानिस हुन् । अहिले यिनका काकाकुलका जस्ता प्यासी नजर माओवादीतिर एकोहोरिएका छन् । के तिनले सिंहदरबारको सत्ताका गद्दामा बसेर यिनका इच्छा पूरा गर्न सच्चा यत्न गर्लान् ? यसको उत्तर मेरो विचारमा मुख्यतः माओवादीहरू विचार, आदर्श र आचरणमा कोजस्तो हुन खोज्लान् भन्ने कुरामा भर पर्छ । हाम्रै जीवनको भण्डारमा माओवादीहरूले पछ्याउनलाई रोज्ने पात्र दुईजना छन् । यी दुवै केपी हुन् । पहिला केपी खोटाङका कुलप्रसाद शर्मा फुयाँल हुन् र दोस्रा केपी हुन्, झापाका खड्गप्रसाद शर्मा ओली ।
शैक्षिक योग्यता एसएलसी, आर्थिक हैसियत निम्नमध्यम वर्गको पनि धेरै तल पिँधतिर । खोटाङे केपी ३५-३६ सालतिर ऊबेलाको नेकपा -माले) मा नारिए । शाही कुशासनको विरोध गरेबापत ३७-३८ सालतिर यी केपी पक्राउ परे । दण्डस्वरूप प्रहरीले यिनलाई ६ महिनासम्म एकदिन पनि नबिराइकन ढुङ्गा बोकायो । खोटाङेहरू भन्छन्, जिल्ला सदरमुकामको डीएसपी कार्यालय यिनैले बोकेका ढुङ्गाले बनेको हो । पछि पहिलो आमचुनाउ जितेर यी केपी एमाले सांसद बने । सदरमुकामबाट हिँडेर ३-४ घन्टामा पुगिने मात्तिम मानेभञ्ज्याङमा यिनको सानो कुटी थियो । सांसदको भत्ता-सुविधाको चुनदाम बचाएर यिनले साविक कुटीनजिकै अलि ठूलो छाप्रो हाले । यिनी सांसद छँदाताकको एउटा कथा खुबै चाखलाग्दो छ । एकदिन कुनै मन्त्रालयका एकजना खोटाङे सचिवले यिनलाई रात्रिभोजको निम्ता दिए । अनि सपत्नी सवार गराउन सचिवले यिनको डेरासम्म शानदार गाडी पनि पठाए । घाम डाँडापारि बास बसेपछि सचिव-गृहमा मदिरापानको मोर्चा खुल्यो । सचिवले ब्ल्याक लेबल, रेड लेबल, वाइन, रम, भोद्का, बियर के खाने भनेर सांसद महोदयको रूचि अन्सारको रोजाइ सोधे । खोटाङे ठर्रासित मात्र परिचित बबुरा केपी पर्नुसम्म विलखबन्द परे । गम खाएर उनले भने, म अरू कुरा जान्दिनँ, मात्तिने जिनिस खाऊँ ।
त्यो साँझ खोटाङे केपीकी जीवनसँगिनीका आँखामा आफ्ना श्रीमान्को नयाँ परिचय खुल्योे । आफ्ना जीवनसँगी त मेरी बास्सै ठूला मान्छे पो रहेछन् । त्यत्रो महल, त्यस्तो गाडी र त्यत्रो शान-सौकात भएका सचिवले उनलाई लिन गाडी पठाए र हात मल्दै निहुरिएर उनलाई नमस्कार गरे । अभावै-अभावको जीवन जिउन बानी परेकी ती गरिब गाउँले नारी सचिव-महलको सज्जा र ठाँटबाँट देखेर धुमधाम प्रभावित भइन् । छुँदैमा दाग लाग्लाजस्तो सिंहमर्मर ठोकेको भुइँ, अनेक रङ्ग र बान्कीका गलैँचा ओछ्याइएका कोठाचोटा, टलक्क टल्किने चिल्लो चर्पी, माथि छानो हेर्दा टोपी तल झर्लाजस्तो महलको उचाइ । त्यत्रा ठूला सचिवले त्यतिविधि मान्ने माननीय सांसदको भने यता जोगीको चाल छ । सचिव-गृहको वैभवबाट सम्मोहित भएर तिनी आफ्ना श्रीमान्सँग अनेकओली माग गर्न थालिन् । हेर बुढा ! मौकाँ हाम्ले नि जेथो जोड्नुपर्छ । राजाका गाममा हाम्ले नि त्यस्तै बिल्डिङ ठड्याउनुपर्छ । हाम्रो नि तिनकोस्तै मटरगाडी हुनुपर्छ । यसबीच पार्टीका कतिपय सांसदहरू धनदौलत जोड्ने रेसमा कुदिसकेका थिए । तिनको रेस नाङ्गा आँखाले टाढैबाट छर्लङ्गै देख्न सकिन्थ्यो । केपी बाबुकी सँगिनीलाई परकाहरूको त्यो दृष्टान्त आफ्ना घरकालाई घुक्र्याउने गतिलो निहुँ बन्यो । तर यी हठी केपीले एक कानले सुने र अर्काेले उडाइदिए । आखिरमा उनले भने, हेर् बुढी ! तिनले झैँ म नाक टेकेर नर्क खान्नँ ।
केपी नारिएको पार्टी जनवादको आदर्श छाडेर छिटोछिटो धनवादमा लिप्त हुँदै गयो । तर उनले भने आदर्श छाडेनन् । कालो महाकाली सन्धिविरुद्ध उनी छाती तन्काएर, शिर ठाडो पारेर उभिए । पाँचौं महाधिवेशनमा उनले नौलो जनवादको सनातन झण्डा छाडेनन् । उनी पार्टीबाट निकाला भए । उनी घरिघरि तिरष्कार र ताडनाको सिकार भए । तैपनि उनी पथविचलित भएनन् । हाल खोटाङको सदरमुकाममा थोत्रो प्रविधि प्रयोग हुने उनको सानो फोटो स्टुडिओ छ, जसको आयस्ता नाममात्रको छ । पेट भर्ने रुखोसुखो चारो जुटाउन उनी नाम्लो बोकेर लेकतिर उकालो लाग्छन् । माथि डाँडा-पाखामा चारचौरास घुमेर उनी नेपाली कागज किन्छन् । कागजको हेमानको भारी ठस्ठस् कन्दै उनी आफैँ बोक्छन् र तल बजारमा ल्याएर बेच्छन् । अभावले डसेका क्षणहरूमा पनि उनी सगर्व भन्छन्, बरु भोकै मर्छु, तिनले झैँ नाक टेकेर म नर्क खान्नँ ।
झापाका केपीको कथा खोटाङका केपीसँग आधा बाटोसम्म मिल्छ र त्यसपछि यिनको बाटो फाट्छ । नाबालक छँदा यिनको आफ्नो भन्नु कोही थिएन । न पैतालामुनि उभिने आफ्नो माटो थियो न शिरमाथि टाउको लुकाउने आफ्नो छानो थियो । झापाली केपी साँच्ची नै बेसहारा थिए । यिनलाई सहिद रामनाथ दाहालको परिवारले आश्रय दिएको थियो । बाख्रा चराउँदै, घाँस काट्दै र खोप्पी खेल्दै यिनको किशोर वय बित्यो । खोटाङे केपीले झैँ यिनले पनि जेनतेन एसएलसी पास गरे । पछि रामनाथ झापा विद्रोहमा लागे र केपीले उनका पाइला पछ्याए । रामनाथ राजा महेन्द्रका हातबाट सुखानीमा मारिए, लुक्दै-छिप्दै हिँडेका केपी रौतहटमा पक्राउ परे । अनि यिनले दस वर्ष शाही कारागारको कहर काटे ।
कारागारमा छँदा पार्टीभित्र यिनको एउटा तिलस्मी छवि रचियो । कृषि सर्वहारा केपी माले पार्टीका अनमोल मोती हुन् । चुम्बकीय दिमाग भएका केपीले कारागारमा विशाल अङ्ग्रेजी शब्दकोश खर्लप्पै कण्ठ गरेका छन् । यिनका नाममा यस्ता अतिरञ्जित कथा त कति कथिए कति ! तैपनि पार्टी वृत्तबाहिर भने यिनको उत्रो चिनारी थिएन । एमालेको नौ महिने शासनमा जब यिनी गृहमन्त्री बने, यिनले एकसाथ नाम पनि कमाए र दाम पनि कमाए । मन्त्री बन्नुअघि यिनी कतै साथीको ओछ्यानमा गएर घुसि्रन्थे, कमरेडहरूले स्नेहले दिएका लुगा पहिरिन्थे र तिनकै सद्भाव र मायामा यी जिउँथे । मन्त्री भए र नाटकीय ढङ्गले यिनको चकाचौँध सुरु भयो । अहिले यिनको धनदौलतको लेखो अपरम्पार छ । भनिन्छ, चिनारी लुकाइएका यिनका घरै चार-पाँचवटा छन् । र सुनिन्छ, गृहमन्त्री हुँदा कताकताका पाखैसमेत पनि यिनले आफ्ना नाउँमा दर्ता गराएका छन् । यिनका अदृश्य गाडधनहरू पनि होलान् भनी यिनकै पार्टीका जनहरू घुटुक्क थुक निल्दै लख काट्छन् ।
हो, यसरी झापाली केपी हिजोको आजै हरिकङ्गालबाट नवधनाढ्य सामन्तमा फेरिए । यो परिवर्तनमा उनका पार्टीको योगदान ठूलो छ । सिंहदरबार पसेर पार्टी नेतृत्वले पत्रु राज्यको रूपान्तरण गर्न खोजेन । बरु आफ्नै पात्रजन्य रूपान्तरण गर्न खोज्यो । राजनीतिमा लागिएको जोगी हुन होइन भन्ने लम्पट सूत्र रचियो र भोगवादको ढोका खोलियो । अब राजनीति जनसेवाको साधन रहेन, यो त आफ्नैलागि मेवामा पतीत भयो । कांग्रेसका भ्रष्ट शिरोमणित्रय गोविन्दराज जोशी, खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेझैँ झापाली केपीहरू यही आदर्शबाट विचलन र नैतिक पतनका झर्रा सन्तानहरू हुन् ।
थाहा छ, झापाली केपी अब गरिखाने जनतासँग छैनन् । ती अन्तै छन् । राजा ज्ञानेन्द्रको हैकमवादी असोजतन्त्रले राजतन्त्रलाई मिल्काउने संविधानसभाको प्रसङ्गको उठान गरिदियो । केपीले यसको खिल्ली उडाए । ज्ञानेन्द्रको खुनी मकरतन्त्रले गणतन्त्रको नारालाई मुलुकभरि छ्यापछ्याप्ती फिँजाइदियो । केपीले यस नारालाई खिसी गरे । माओवादीहरू जब बन्दुक बिसाएर प्रतिस्पर्धा र सह-अस्तित्वको शान्तिपूर्ण राजनीति गर्न तत्पर भए, केपीले सधैँ तिनको यता आउने बाटो छेक्न खोजे । कुरा सुन्दा उदेक लाग्छ । तर यो सत्य हो । जब केपी कमल थापाको मुद्रामा शान्ति प्रक्रियामा भाँजो हाल्न खोज्छन्, अमेरिकी कोन्डालिजा राइस मुसुक्क हाँस्छिन् । यो वर्गको कुरा हो । यिनको वर्ग मिल्छ । यिनको वर्गस्वार्थ मिल्छ । यथास्थिति यिनको पि्रय आदर्श हो । र परिवर्तन हो, यिनको परम् शत्रु । त्यसैले झापाली केपीहरू नारकीय यथास्थितिको जोगाउ गर्न लिट्टी कसेर लागिपरेका छन् । यो आफू सुहाउँदो वर्गस्वार्थको कुरा हो ।
बस्, दुई केपीको कथा छोटकरीमा कहियो । यी दुई केपी दुई वर्गका आदर्श चरित्र हुन् । 'सादा जीवन उच्च विचार' को सुन्दर झण्डा बोक्ने खोटाङे केपी भोकानाङ्गा जनताका पुराना मित हुन्, 'विलासी जीवन तुच्छ विचार' को बाटो समात्ने झापाली केपी हुन्, सामन्तहरूका नवोदित साथी । सिंहदरबार पसेर माओवादी कमरेडहरूले कुन केपीका पदचिह्न पछ्याउलान्, त्यो हेर्न बाँकी छ । जब आदर्श र उत्सर्गको भावना त्यागिन्छ, राजनीतिमा झापाली केपीहरूको जायजन्म हुन्छ । माओवादीको भेषमा वर्ग फेरिएका झापाली केपीहरूलाई देख्न इहलोकका दुःखीहरूलाई एकरत्ति इच्छा छैन । माओवादीहरूको इरादा के होला ?
-
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=92882