हुन पनि “तैंले लास्टै दु:ख पाईस, ल मोज गर्” भनेर नै भगवानले बिशाल
दाईलाई पठाई दिए जस्तो लाग्थ्यो | छ हप्ते ट्रेनिंगको बीच-बीच जस्तो मा पुगेका
थियौं | दाईले लगभग सबै समय म संगै बिताउनुहुन्थ्यो, केटाहरु चाहिं कहिले हुन्थे
कहिले हुन्थेनन् | बिस्तारै दाईको बारेमा थोरै थोरै थाहा पाउँदै थिएँ | दाईको बारेमा
रिसर्च गर्न मसंग कुनै स्रोत थिएन त्यसैले दाईले जे जे भन्नुहुन्थ्यो त्यसैलाई
चिर-फार गरेर जानकारीहरु निकाल्थें | दाईलाई सार्है नै सुनाउन पर्ने | त्यती हुँदा
हुँदै पनि मैले दाईको बारेमा धेरै कुराहरु थाह पाउन सकेको थिईन | दाईको नेपालको घर
कहाँ ? घरमा को को हुनुहुन्छ ? के गर्नुहुन्छ ? आदी आदी | मलाई त दाईको बिहे भको छ
कि छैन समेत थाह थिएन | कहिले कहिले यसो सोध्न थालें भने जहिले पनि त्यहि उत्तर
हुन्थ्यो | “जे सोधे पनि सोध, यो चाहिं नसोध, आफैले पत्ता लगाईस भने ठिकै छ, म
चाहिं भन्दिन |”
एकदिन दाई अफ मुडमा हुनुहुन्थ्यो | “ट्वान्टी थर्ड स्ट्रिट को स्टोरमा
लगेर ग्यास रिफिल गर्न पर्नी त्यसकी मा झ्याक्नीले हन्ड्रेडथ्मा लगेर खोत्त्याएछ|
विकेन्डको बेला तेस्तो बिजी स्टोरमा ग्यास नै छैन, मुजिलाई सु गर्दिन्छु अनि थाह
पाउंछ |” मनमनै सोचें, ए दाईको त दुईटा ग्यासटेसन रैछ, त्यो पनि एट लिस्ट | अनि
फेरी दाईको बोलीको त कुरै नगरम् | केटाहरुको “राष्ट्रिय भाषा” नबोलेको त वाक्य नै
हुन्थेन |
“दाई अब के हुन्छ? उनीहरुको गल्तीले त हो नि , उनीहरुले फेरी ठिक
ठाउँमा लगेर डेलिभर गर्नु पर्छ नि हैन ? डेलीभरी चार्ज नलगाई” मैले सानो स्वरमा
सोधेँ |
“तँ मुजी फिस्टेलाई थाह छ | धोतीकोमा घण्टा हानेर खुब जानेछस्|” दाईले
मेरो सानो ज्यान र बिगतलाई एकै पटक प्रहार गर्नुभो | हुन त मलाई यस्तो कुराले
कहिलयै छुँदैनथ्यो तर खै के भयो त्यो बेला, मन अमिलो भयो | दाईको ठाउँमा बसेर
सोच्दा पनि ठिकै हो, अब ट्वान्टी थर्डको स्टोरमा ग्यास आईपुग्न कम्तिमा पनि एक दिन
लाग्थ्यो होला, एक दिनको ब्यापार त चौपट भयो नि | कत्तिको चल्ने स्टोर हो, लास्टै
चल्ने स्टोर रैछ भने त जो पनि रिसाउँछ नि | झन् बिशाल दाईको मिजासै कडा खालको थियो
| स्वाभाविक नै लाग्यो दाईको रिस पनि |
“जा फ्रिजमा हिजोको बियर छ होला, लिएर आईज |”
अहिले सम्म एक चोटी पनि मैले नाईं भनेको थिईन मैले दाईलाई | यो चोटी
पनि भनिन | फ्रिजबाट एउटा बियर लिएर आएँ , बिर्को खोलें र दिएँ | दाईले मेरो कालो
भएको अनुहार देख्नुभयो र मेरो मन अमिलो भएको बुझ्नुभएछ |
“हाहा तेरो ज्यान फिस्टे छ त मैले अब तलाई हात्ती भनम् | धोतीकोमा
घण्टा हानेकै होस् क्यारे | त्यै नि तँ फिस्टे रिसाएर मेरो केहि बिग्रिन्न| बियर
सकिएपछि सम्झेलास् नि दाईलाई |” दाईले माया पनि सार्है गर्नुहुन्थ्यो |
दाईले मेरो सबै कुरा पुर्याईदिनुहुन्थ्यो | रक्सि, सित्तन, तरुनी सबै | सबै गरे
बापत दाईको पनि डिमाण्ड हुन्थ्यो | रातीको २ बजे उठेर मासु भात पकाई दिन पर्थ्यो
कहिले | कहिले राती ४ बजे दाईलाई कन्डम किन्न ग्यास्टेसन जानु पर्थ्यो | दाईको मुड
चले कहिले कहिले गाडी दिनुहुन्थ्यो, नत्र हिडेर जानु पर्थ्यो | जे होस्, दाई पाएर
मा खुशी थिएँ|
यस्तै रमाईलो गर्दा गर्दै ट्रेनिंगको अन्तिम अन्तिम तिर पुगिसकेका
थियौं | बिशाल दाईको तक्लु टाउकोको छेउ-छाउमा अलिकति कालो कालो कपाल देखिन लागेको
थियो | दाईलाई ठुटे कपाल मन पर्दैन थ्यो र लामो कपाल पाल्नलाई कपाल थिएन त्यसैले सधैँ
तक्लु भएर हिड्नुहुन्थ्यो | त्यो अलि अलि पलाएको कपाल दाईलाई झिंझो लाग्थ्यो
त्यसैले भेट भए पिच्छे आज कपाल काट्न पर्नी थ्यो भनेर सुनाउनु हुन्थ्यो |
त्यो दिन दिउँसो हाम्रो क्लासमा धोती साहु आयो | हामी मात्रै भाको भए
त हिन्दि मै कुरा गर्थ्यो होला | चाईनिज र श्रीलंकन भएको भएर अंग्रेजीमा भन्यो |
“वि आर अल्मोस्ट डन् विथ द ट्रेनिंग, नाउ यु अल आर रेडी फर मार्केटिंग
| दिज आर योर रेजुमी| “ भनेर सबैलाई एकएक खेस्रा कागज बाँड्यो | मैले मेरो हेरें |
इमेल उसैले बनाईदेको रैछ | म संग ६ बर्षको अनुभब रैछ | मैले ब्यांक अफ अमेरिका
जस्तो मेजर ब्यांकहरुमा काम गरिसकेको रैछु | त्यसमा त मेरो उमेर समेत मिल्थेन | मेरो
नाम मात्र सहि थ्यो | कागज हेरेर दङ्ग पर्दै थिएँ | धोती साहु बोल्यो |
“नाउ यु अल ह्याभ टु नो एभ्रीथिंग द्याट इज इन योर रेजुमी |” हामी
सबैले ओ के भन्यौं कि जस्तो लाग्छ, सम्झिन्न |
त्यो दिन, बाँकी दिउँसो भरी दाई कता हराउनुभयो कता, राती एक बजे
आउनुभयो |
“ओई भाई उठ त कपाल काट्नु छ” | राती राती आएर बेला न कुबेला काम लगाउन
दाईलाई केहि गार्हो लाग्दैन थ्यो|
“ह्या दाई | पछी काटम्ला नि |”
“उठ भन्छु त“ दाईले उठाएरै छाड्नुभयो | केहीबेर ओच्छ्यान मै बसी रहें|
उठें | अनि मेरो नयाँ जिलेट रेजर निकालें |
“नयाँ हो नि ?” दाईले सोध्नुभयो |
“हजुर”
“मुजी माल हान्दै हिनेछस, मलाई एड्स लाग्यो भने तेरो ला[Censored]
च्वाट्टै पार्छु नि |” दाईले दाईकै तरिकाले धम्क्याउनुभयो | मैले होशियार भएर
दाईको टाउको खौरी दिएँ | खै, दुई जति भाथ्यो होला सकिंदा |
“आजबाट ट्रेनिंग नि सकियो बाहिर जान्छस्?” अनि सुतिराखेका केटाहरुलाई
लात्ताले घच्-घच्याउँदै भन्नुभयो “ओई मुजी बोका हो, बाहिर जाने भए उठ |”
“कता जानी नि ” मैले क्युट पाराले टाउको हल्लाएर सोधेँ |
“आज टेक्सासबाट बिन्दु परियार आइछे रे डाउन-टाउन को क्लबमा, जान्छस्
?”
“त्यो पोखराको केटी, खैरे संग बिहे गरेर आकी अनि भालु भ’की हैन ?”
मैले चिनेछु भनेर सुनाएँ|
“तँ बोकाले कसलाई चिन्दैनस र? अलि हेर्न हुनी कपडा लगा जा , के लाको
त्यो |”
मेरो घुँडामा अलिकति च्यातिएको जिन्सको दाईलाई मन पर्दैनथ्यो | अर्को
राम्रो जिन्स लगाएँ | केटाहरु पनि रेडी भए एकैछिनमा | साँढे दुई तिर बाहिर निस्किईयो
| आज त बिन्दु परियारलाई हान्नी भनेर लास्ट खुशी
थिएँ, केटाहरु पनि दंग थिए | दाईसंग हुँदा कहिले पनि खर्चको बारेमा सोच्नु
पर्दैनथ्यो | तर अफसोच, त्यो रात कुन चै खैरे ले बुक गरेको रैछ हाम्री
प्यारी चेलीलाई, मैले चान्स पाईन | त्यै पनि दाईले केहि चल्छ कि भनेर दुई चार वोटा
खैरे संग के के हो कुरा गर्नुभयो | केहि लागेन | अरु खैरिनी संग केहि समय बिताईयो
अनि फ़र्किईयो | दाई त्यो रात आफ्नो कोठामा जानुभएन |
“घरको पांच हजारको पलंग छोडेर
तिमीहरु मुजी संग यहाँ सुत्दै छु, भाग्यमानि रैछौ तिमीहरु” दाईले फेरी सुनाउनुभयो
| मेरो , रमेशको अनि अर्को साथीको ओच्छ्यान गरेर दाईलाई अग्लो बिस्तारा बनाईदियौं
| दाई त्यहीं आरामले सुत्नुभयो हामी चै त्यहि कार्पेटमै लड्यौं |
भोली बिहान दाईलाई क्यालीफोर्नियाबाट फोन आयो | आधा निन्द्रामा फोन
उठाउनुभयो | त्यसका बाजे मर्केटरको रैछ | दाईले फोन उठाएर स्पिकरमा राख्नुभयो |
सबैको निन्द्रा बिथोलियो |
“हेल्लो मे आई टक टु बिशाल ट्यांक प्लिज”
दाईलाई धोतीले अमेरिकन एक्सेन्ट हालेर बोलेको कत्ति मन पर्दैनथ्यो | झन् त्यो क्यालिफोर्नियाको धोतीको नक्कली एक्सेन्ट त “आउट अफ दिस वोर्ल्ड” थियो | त्यै
पनि दाईले उत्तर दिनुभयो “इट्स मी, बिशाल”
“आर यु लूकिंग फर जब”
“यस आई एम “ दाईलाई यो बेला सम्म के बोल्ने र कस्तो प्रश्न अपेक्षा
गर्ने पनि थाह थिएन|
धोती ले सोध्यो “हाउ मेनी यियर्स अफ एक्सपेरियन्स डु यु ह्याभ ?”
दाईले कुल भएर उत्तर दिनुभयो “होल्ड अन अ सेकेन्ड, लेट मी लुक एट माई
रेजुमी” | दाईले त आफ्नो रेजुमी हेर्नुभा पनि रैन्छ | हामी सबै हाँसेको हाँस्यै
भयौं | उता धोती पनि हाँस्यो |दाईलाई फेरी धोती हाँसेको कत्ति मन नपर्नी | दाईलाई
रिस उठ्यो र हिन्दीमा “मादर चोद बिहारी, हस्ता है” भनेर फोन राख्दिनुभयो | अनि
हामी तिर हेरेर थर्काउनुभयो “मुजी केटाहरु आईन्दा बिशाल दाईमाथी हाँस्नु अघि
आ-आफ्नो चाकको इन्सुरेन्स गरेर आओ |”
बिहान उठेर दाई धोती साहुकोमा जानुभयो | खै के के कुरा गर्नुभयो
कुन्नि, दाईको मार्केटिंग रोकिएछ अनि दाईले जाभाको ट्रेनिंग सुरु गर्नुभएछ |
यता चाहिं बिहान देखि मेरो मार्केटिंग कल आउन थालेको थियो | मलाई के
भन्ने आउंदैनथ्यो | धोतीहरु फेरी जुन बेला पनि फोन उठाएपछी इन्टर भ्यु जस्तो गरेर
प्रश्नहरु सोध्थे | कम्तिमा पनि म भनेको ६
बर्षको अनुभब भाको मान्छे हो नि | अलिकती प्रोफेसनलिज्म देखाउनु पर्छ नी मलाई |
यसो फोन गरेर “डज दिस टाईम वोर्क फर यु” भनेर त सोध्नु पर्छ | फोन उठायो कि झ्यापै
सोधि हाल्नी | आफुंलाई आउंदैन | अनि “लेट मि कल यु ब्याक, आई एम ड्राईभिंग” त कति
भनियो कति | फोन राख्यो, गूगल गर्यो | रेडी भयो | अनि कल ब्याक गर्यो | मेरो नियमित
काम जस्तै भईसकेको थियो | थुप्रै माहिना बित्यो तर पनि मेरो काम लागेन | उता बिशाल
दाईको जाभाको ट्रेनिंग सकेर जाभाकै मार्केटिंग सुरु गर्नुभएछ | दाईले अर्को ट्रेनिंग
लिन सुरु गरेपछी फियुल ट्यांक लाई अरु नै कुनै भाईले रिप्लेस गरिसकेको थियो होला
सायद, दाई संग भेट हुन गार्हो पर्थ्यो |
एक दिन दाईले फोन गर्नुभयो | एकैछिन हालखबर आदान-प्रदान भयो | तेस्पछी
दाईले भन्नुभयो “तेरो अझै काम लागेन, खै मलाई पठा त हेरम तेरो रेजुमी कस्तो रैछ |”
मैले पनि दाईको इमेलमा मेरो रेजुमी फरवार्ड गर्दिएँ| एकहप्ता पछि फेरी दाईले फोन
गर्नुभयो “के गर्दै छस् फिस्टे ?”
“धोतीको फोन उठायो बस्यो, हजुर त हराउनुभयो किन हो ?”
“तँ जस्तो बेकम्मा हो र ? मेरो त बिजनेस छ, बिजी भईन्छ नि |अहिले के
गर्दै छस बरु ?”
दाईले आफ्नो ग्यासटेसनको जहिले नि गफ दिईहाल्नुहुन्थ्यो |
“केहि छैन दाई |किन र ?”
“ल म तलाईं लिन आउंछु, रेडी भएर बस्”
भनेको समयमा दाई जहिले पनि आईपुग्नुहुन्थ्यो | के का नै साँचीकै
बिजनेशम्यान जस्तो गरेर | त्यो दिन पनि आईपुग्नुभयो | दाईको गाडीमा बसें | दाईले
मलाई आज नयाँ बाटो लिएर जानुभयो , नयाँ ठाउँमा | एउटा नयाँ बिल्डिंगको अगाडी “रिजर्भ्ड”
लेखेको ठाउँमा गाडी पार्क गर्नुभयो | बिल्डिंग भित्र छिर्यौँ |
“फर्स्ट फ्लोर मै छ मेरो अफिस” |
दाईको अफिसको ढोका खोल्यौं | केहि मान्छेहरु काम गरी राखेथे | त्यसमध्ये
केहि चिनेका अनुहारहरु पनि थिए, उही धोतीसाहुको कन्सल्टेन्सीमा देखेका अनुहारहरु |
म चकित परें | “हजुरको पनि कन्सल्टेन्सी थियो ?”
“थियो”
“अनि किन जानुभा त धोतीको मा ?”
“कनेक्सन भाई कनेक्सन”
म चुप लागेर एता उता हेरें | “आईज एता “ दाईले आफ्नो कोठा भित्र बोलाउनुभयो
| दाईको अफिस भित्र बढेमानको नेपालको झण्डा थियो | तेस्को दाहिने पट्टि नेपालको
नक्शा थियो | देब्रे पट्टि व्हाईट बोर्डमा खै मैले नबुझ्ने कोडहरु लेखिएको थियो |
टेबलमा सानु सानु नेपाल र अमेरिकाको झण्डा संगै थियो | अनि कम्पुटरको साईडमा सानो
फोटो थियो | आमा, बुवा, भाई र बिशालदाई हुनुहुन्थ्यो | भाई म
जस्तै दुब्लो, म जस्तै सानो र म जस्तै काले थियो| दाईको भाषामा म जस्तै फिस्टे
थियो | आमाको सारी रातो पृष्ठभुमीमा पहेलो र सेतो फुल थियो, अनि बुवाले र दाईले आर्मीको ड्रेस लगाउनुभाको थियो | दाईको कुर्सीको ठिक पछाडी आमाको ठुलो फोटो थियो | यो फोटोमा आमाको सारीमा
सेतो र पहेंलो फुलमात्र थियो, रातो पृष्ठभुमी खै कुन बेला बिस्तारै खुईलिसकेको
रहेछ | केहि सोध्न सकिन | एक टक लागेर फोटो हेरिरहें |
त्यो अफ्ट्यारो मौनतालाई चिर्दै बिशाल दाईले आफ्नो हँसिलो बोलि
फुटाउनुभयो | “देखिस् मैले केहि भन्नु नै परेन नि, आफैंले था पाईस् नि हैन ?”
यसो हाँस्न खोजेँ र टाउको हल्लाएर समर्थन जनाएँ |
“मैले किन बोलाको था छ ?”
“छैन दाई”
“तेरो बोस्टनमा जब लाग्यो, सबै प्रोक्सीले गरिदियो , तैले केहि गर्नु
परेन | अब दुई चार वोटा कागजमा सहि गरे हुन्छ |”
म हेरेको हेर्यै भै रहें | केहि बोल्न पनि सकिन | फेरी दाईले थप्नुभयो “ओई मुजी फिस्टे , थ्यांक
यु भन्दैनस्”
म अझै चुप थिएँ | दाईले अझै भन्नुभो “माथि बाट आएको सबै तलाईं दिन्छु
| तैंले घन्टाको ४२ जति पाउँछस्, फेरी दाईले गरेको खर्छ जति साबै उठायो भन्लास् नि |”
“तेस्तो पनि सोच्छु होला त ?”
अमेरिकामा आएर नपढी सहि गरेको पहिलो कागज थियो त्यो | दाईलाई बिस्वास
गरेर केहि नपढी सहि गरें | दाईले मेरो बिस्वास तोड्नुभएन | भनेको कुरा सबै
पुर्याउनुभयो |
बोस्टनमा ब्लु लाईन चढेर काममा पुग्थें | अनि मेरो कामको डेस्कमा भएको दाईको फोटो हेर्थें अनि मन मनै सोच्थें “वाह
, बिशाल दाई क्या कुल“
***************************************
समाप्त ||